गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका मैत्री भवनको आज सोमबार नगरप्रमुख बसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको हो ।
नयाँ भवन उद्घाटन गरेर संचालनमा ल्याए संगै पुरानो भवन सानो हुँदा दुई स्थान बाट सेवा प्रवाह गर्दै आएको नगरपालिकाले शाखा र सेवाहरु एकै ठाँउबाट सहज सेवा प्रवाह गर्ने भएको छ । नव निर्मित प्रशासकीय भवन फरक क्षमतामैत्री, वालमैत्री, अपाङमैत्री विद्युतीय भर्याङ (लिफ्ट) सहित अन्डर पार्किङको सुबिधा सहितको रहेको प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले बताउनु भयो ।
भवन उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बस्नेतले नयाँ भवन उद्घाटन गरेर सेवा प्रवाह मात्र दिने नभएर नविनतम सोच विचारका साथ नव निर्मित भवनबाट जनताले थप महसुस गर्ने गरि काम गर्ने बताउनु भयो। ८४ कोठा रहेको ४ तले भवन निर्माणको जिम्मा ज्ञान ज्योती बिल्डर्स प्रा.ली काभ्रेले पाएको थियो ।
