सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ।
यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।
उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए।
उनले भने ‘प्राविधिक समितिले अहिले अध्ययन गर्दै छ। भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो? आउन सक्ने सम्भावना छ भने त्यसको लागि हामीले गर्ने तयारी के के हुन्, त्यसका लागि विभिन्न विषादीहरुको उपलब्धताको कुरा हुनसक्छ, उपकरणहरुको कुरा हुनसक्छ ती उपलव्धता हामीसँग छन् कि छैनन्।’
समितिले गरेको कामका आधारमा मन्त्रालयले गर्नुपर्ने तयारी गर्दै जाने उनले बताए। सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ। सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्याउँछ।
सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सूदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ।
सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्ता केसीले बताए। उनले सलह कीराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताए।
त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उनको भनाइ छ।
उनले भने ‘यो आइसक्यो भने ठूलो संख्यामा आउँछ, करोडौंको संख्यामा आउँछ। यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ। हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नु बाहेकको विकल्प हुँदैन।
विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ। आइहाल्यो भने पनि हामी त्यसको लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरुको उपलव्धताको बारेमा तयारीको प्रक्रियामा लागिसकेका छौं।’
मन्त्रालयले सलह कीराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता केसीले बताए।
यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्। सेतोपाटीबाट स्रोत