चार्टर्ड उडानको नाममा व्यापक ठगी, तेस्रोपटक घटाइएको भाडा तीन गुणा महँगो

Logo
मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड हवाई भाडामा सरकारको भूमिका खसी व्यापारी जस्तो भएको भन्दै गुनासो गरेका छन् ।

सरकारले केही दिनअघि पहिलोपटक विदेशबाट नेपालीलाई उद्धार गर्ने समय तालिका र हवाई भाडादरको सूची निकालेको थियो । त्यो भाडादर देखेपछि खाडी क्षेत्रलगायत विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदार निकै अत्तालिए । कोरोना भाइरसको प्रभावका कारण लामो समयदेखि रोजगारी खोसिएर बेखर्ची भई विदेशमा दुःख पाएर बसेका कामदारलाई निःशुल्क उद्धार गरी ल्याइदिनुपर्नेमा उल्टै सरकारले चार्टर्ड उद्धारका नाममा साविकको भन्दा चार गुणासम्म बढी भाडा असुल्न खोजेपछि उनीहरू थप पीडामा परेका थिए । विभिन्न मुलुकमा अलपत्र कामदारको पीडामाथि सरकारले साविकको भन्दा बढी भाडा तिराएर नेपाल फर्काउन लागेको भन्दै सर्वत्र दबाब भएको थियो । सोही दबाबपछि बल्ल सरकारले पटक–पटक गरी पुनः तेस्रोपटक हवाई भाडा केही घटाएर नयाँ भाडादर निर्धारण गरेको छ ।

भाडादरमा पनि अझै विभिन्न मुलुकमा दुःख पाइरहेका नेपाली कामदार सन्तुष्ट छैनन् । उनीहरूले सरकारले पछिल्लोपटक निर्धारण गरेको चार्टर्ड उडानको भाडादर पनि अझै साविकको भन्दा तीनगुणा महँगो भएको बताइरहेका छन् । विभिन्न मुलुकमा समस्यामा परेका अधिकांश कामदार एवं सम्बन्धित सरोकारवालाले लामो समय अर्काको भूमिमा बेखर्ची भई दुःख पाइरहेका नेपालीलाई जतिसक्दो छिटो निःशुल्क रूपमा स्वदेश फर्काउनुपर्नेमा सरकारले उल्टै यति धेरै भाडा उठाई नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई राम्रो कमाइ गराउन चार्टर्ड उडानको अवसर दिलाउन खोजेको आरोप लगाएका छन् ।

उनीहरूको यस्तो आरोपसँगै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यामबाट चौतर्फी दबाब एवं व्यापक आलोचना भएपछि सरकारले आइतबार पुनः तेस्रोपटक हवाई भाडा घटाएको थियो ।

विदेशमा अलपत्रको उद्धारमा चार्टर्ड उडानको भाडा महँगो भएको भन्दै व्यापक आलोचना भएपछि सरकारले गत शुक्रबार केही भाडा घटाएको थियो । त्यसपछि पुनः आइतबारदेखि लागु हुने गरी तेस्रोपटक भाडा घटाएको हो । यसपटक सरकारले मेलेसिया र खाडीका प्रमुख श्रम गन्तव्यहरूको मात्रै हवाई उडान भाडा घटाइएको छ । अहिले दुईपटक गरी सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।

भाडा घटाउन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । प्रतियात्रु सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल वायुसेवा निगम र निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सहमति जनाएर अलपत्र नेपाली ल्याउने तयारी गरेको पर्यटन मन्त्रालयले बताएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चार्टर्ड उडानका लागि यताबाट रित्तो विमान उडाएर उताबाट एकतर्फी यात्रु ल्याउन आवश्यक विमानको लागत खर्चभन्दा एक रुपैयाँ पनि बढी नलिएको दाबी गरे । उनले अलपत्र कामदारलाई निःशुल्क ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग मात्र सम्बन्धित भएकाले यस मन्त्रालयले केही गर्न नसकिने बताए ।

पर्यटन मन्त्रालयले पछिल्लोपटक घटाएको नयाँ भाडादरअनुसार मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । यस अनुसार अहिले मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । यसैगरी, कतारको दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अहिले ३९२ डलर कायम भएको छ । त्यसैगरी, दुबईबाट नेपाल फर्किँदा ३६० डलर तिर्नुपर्ने हुन्छ । यसअघि यहाँको भाडा प्रतियात्रु ४५० डलर थियो ।

साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ । ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल वायुसेवा निगमको टिकट पाउनेछन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर थियो । कुवेतको भाडा ५१० डलरबाट ४१० मा झारिएको छ । त्यसैगरी, जोर्डनको भाडा ७७५ बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।