नेपालको प्रदेश नं. १ को पश्चिम देखि दक्षिण हिस्सामा फैलिएको उदयपुर जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको यस जिल्ला क्षेत्रफलको हिसाबले नेपालको २७औं ठुलो जिल्ला हो । ८ स्थानिय निकाय रहेको यस जिल्लामा चार नगर मध्ये बेलका नगरपालिका• त्रियुगा नगरपालिका• चौदण्डीगढी नगरपालिका• र कटारी नगरपालिका• रहेका छन् यस्तै चार गाउपालिका मध्ये उदयपुरगढी गाउपालिका• ताप्ली गाउपालिका• लिम्चुङ्गबुङ्ग गाउपालिका• र रौतामाई गाउपालिका• रहेका छन्।
यो जिल्लाको सिमानामा उत्तरमा भोजपुर, खोटाङ र वखलढुङ्गा, पश्चिममा सिन्धुली र धनुषा, दक्षिणमा सिरहा र सप्तरी जिल्ला एवं पूर्वमा सुनसरी र धनकुटा जिल्लासँग सिमाना जोडिएको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ ।
त्रियुगा नदीको किनारमा चुरे र महाभारततर्फको विचमा रहेका भित्री मधेसका फाँटहरु मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यका नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से)मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि २३१० मिटर उचाइसम्म रहेको छ ।
महाभारत शृङ्खला र चुरे पर्वत शृङ्खलाबीच रहेकाले महाभारत शृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडा र थुम्काहरु भएकाकारण छरिएका र पातलिएका बस्तीहरू छन् भने महाभारत फेदिदेखि चुरे शृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ।
पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका पर्छ छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका को केहि भाग पर्दछ। यस जिल्लाको उत्तरमा महाभारत पर्वत शृङ्खलामा पर्ने सबै भन्दा अग्लो चुचुरो चित्रेथाम हो। जसको उचाई करीब ७७७० फिट रहेको छ।
यो जिल्लाको कुल भूभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भू-भाग रहेको पाइन्छ। यहाँको पहाडी चुरे क्षेत्र पशुपालन तथा कृषि व्याबसाय र भित्री मधेशको उब्जाउ भूमि कृषि उत्पादनका लागि अब्बल मानिन्छ। चुरे र पहाडी क्षेत्र भएका कारण बनजङ्गल एवंम जडिबुटिको क्षेत्रमा यो जिल्ला अत्यन्त धनी छ।
यस जिल्लाको अधिकांस क्षेत्र अर्थात करिब ५३.७३% भू-भाग बनजङ्गलले ढाकिएको छ। साल, सिसौ, सिमल, बर,पिपल, खयर, हर्रो, बर्रो, गुरास, तेजपात, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रे आदी यस जिल्लाको बन जङ्गलमा पर्याप्त मात्रामा पाउन सकिन्छ। त्यसै गरी यहाँको बनजङ्गलमा अनेक प्रकारका बन्यजन्तुहरू र पंछीहरू पाइन्छन । नेपालको पहिलो ठूलो रामसार क्षेत्र सहित भएको कोशी टप्पु वन्यजन्तु आरक्ष समेत यस जिल्लामा पर्दछ।
नेपालकै सानो १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उदयपुर जिल्लामा पर्ने यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, दुर्लभ अर्ना र दुर्लभ डल्फीनसमेत पाईन्छ। यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइन्छन्।
विश्वमा नै दुर्लभ मानिएका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (swamp partridge), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ।
जलश्रोतको दृष्टिकोणले यो जिल्ला धनी छ। यस जिल्लाको कुल भूमि मध्ये नदिनाला तथा खहरेले ढाकेको क्षेत्र २३.१३% रहेको छ। यस जिल्लामा बग्ने मुख्य नदिनालाहरूमा सप्तकोशी, रसुवा, त्रियुगा, बरुवा, ककरु, तावा, कमला आदी प्रमुख रूपले लिन सकिन्छ।
करीब ५९०० फिट (१७७० मि.) को उचाईमा रहेको रौताको पोखरीलाई जिल्लाको प्रमुख तालका रूपमा लिन सकिन्छ। त्यसै गरी अन्य ताल-पोखरीमा इनामे गाबिसको ताप्लिपोखरी, झिल्केपोखरी, आँपटार गाबिसको सुकेपोखरी, थानापोखरी जोगिदहको पोखरी आदिलाई प्रमुख रूपमा लिन सकिन्छ।
करीब ५९०० फिट को उचाईमा एक विगाह क्षेत्रफल ओगटेको रौता पोखरीले उदयपुर जिल्लालाई धार्मिक र पर्यटकीय क्षेत्रमा नेपाल देखि विश्वलाई चिनाएको छ। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट २० कि. मी. उत्तरमा अवस्थित यस पोखरी धर्मिक रुपमा प्रख्यात छ।
आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ रौता पोखरीमा स्नान गर्न भक्तजनहरूको भिड लाग्ने गर्छ। धर्मिक रूपले ठूलो श्रद्धा र विश्वास रहेको यो पोखरीको छेउको रौता मन्दिरमा दैनिक कुमारी देवी (भगवती) को पुजा आराधना हुन्छ। रौता मन्दिरमा विभिन्न उदेश्यले भाकल पनि गर्ने चलन छ। यहाँकी देवीलाई पाठी वा जोडी परेवा बली दिने प्रथा परापूर्वकालदेखि चलिआएको छ।
धेरै उचाइमा रहे पनि यस पोखरीको पानी कहिल्यै नसुक्ने, पोखरी वरिपरि प्रशस्त रुखहरु रहेपनि पोखरीको पानीमा रुखबाट झरेका पात पाइन्दैन । रुखबाट झरेका पात पतिङ्गरलाई चराहरूले चुच्चामा च्यापेर आफ्नो बाहिर लाने गर्दा पोखरीमा रुखका पात कहिले देख्न पाइन्न।
प्रकृति निर्मित यस पोखरीका सात निकास (धारा) रहेका छन। उदयपुर जिल्लाको सदरमुकाम भएर बग्ने त्रियुगा नदीको उद्गम स्थल यहीँ हो। सातमध्ये तीन धारा प्रवाहित भई बनेको नदी हुनाले यसलाई त्रियुगा भनिएको हो। एक-एक धारा राँकुली र अँधेरी नदी बनेर सप्तकोशीमा समाहित हुन्छन भने छैठौँ धारा बरुवा नामले बगेर गाईघाटको पश्चिममा त्रियुगा नदीमा समाहित हुन्छ। सातौँ धाराबाट उत्तरमा प्रवाह हुने हेमगंगा निर्माण हुन्छ जुन धार्मिक कोणबाट अत्यन्त पवित्र तीर्थ गंगा मानिन्छ।
पूर्वी पहाडी जिल्ला खोटाङलाई उदयपुर सहित तराई सँग जोड्ने छोटो दुरीको सगरमाथा राजमार्गले जोडेका कारण गाईघाटबाट विभिन्न साधन मार्फत रौता पोखरीको आवतजावत गर्न सहज छ। विश्वमा कहलिएका ८ हजार मिटरभन्दा अग्ला शिखरहरू सर्वोच्च शिखर सगरमाथा, चोयु, ल्होत्से, मकालु, कुम्भकर्णलगायतका हिमशृङ्खलादेखि तराईका समथर फाँट हुँदै भारतका विहार, उत्तर प्रदेशसम्म खाली आँखाले अवलोकन गर्न सकिने एक भ्यू पोइण्टको रूपमा रौता पोखरी रहेको छ।
रौता आसपासका क्षेत्रमा विभिन्न नगदे वालीका लागि उचित स्थान मानिन्छ। नेपालकै धेरै चिया हुने क्षेत्र इलामको हावापानी सँग मिल्दो जुल्दो यहाको हावापानी र भौगोलिक अवस्थिति हुदा यहाँ चिया, अलैंची, आलु, अम्लिसो, अदुवा खेति गर्न सकिन्छ। हाल ब्याबासायिक रुपमा कसैले पनि चिया खेति गरेको नभएपनि अलैंची, आलु, अम्लिसो, अदुवा खेति भने प्रशस्त गरेको पाईन्छ। चिया खेतीका लागि रौता पोखरी वरपरका पारिलाफाँटहरु उपर्युक्त लाग्छन।
उदयपुर ऐतिहासिक रुपमा पनि परिचित जिल्ला हो। पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती रहेको छ । वि.स. २०२८ सालभन्दा अगाडि यस जिल्लाको सदरमुकाम हालको उदयपुर गढी गाउपालिकामा पर्ने उदयपुरगढी भन्ने ठाउँमा थियो।
उदयसिंह नामका राजाले र्राज्य गरेको सेन राज्यमा पृथ्वीनारायण शाहको राज्य एकीकरणकालमा भोजपुरको हतुवागढी, सुनसरी धरानको विजयपुरगढीलाई परास्त गर्दै उदयपुरको चौदण्डीगढी राज्यको सहायक राज्य रहेको उदयपुरगढी कब्जा गरेको इतिहास छ। राज्य कब्जा गरेपछि चौदण्डीगढीलाई मुख्य युद्धपोत र उदयपुरगढी सहायक युद्धपोत बनाएर पूर्वका ससाना किरात राज्यहरुमाथि धावा बोलेर विजय प्राप्त गर्दै थप राज्य विस्तार गरेको इतिहास पाइन्छ।
उक्त उदयपुरगढी क्षेत्रमा अढाई सय वर्षअघिको भग्नावशेषको रुपमा अहिले पनि तत्कालीन सेनाको बङ्कर, कोतखाना, युद्धपोतक्षेत्र देख्न सकिन्छ। अहिले स्थानीय सरकारले त्यहाँको पुरानो गढी, तत्कालीन सेनाको बङ्कर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त भौतिक संरचनाको भग्नावशेषका संरचनाको पुनर्निर्माण गरि रहेको छ।
धेरै प्रचार प्रसार हुन नसकेको उदयपुर जिल्लाको सबै भन्दा बढी इतिहास बोकेको उत्तरमा दूधकोशी नदी र दक्षिणमा चुरे पहाड रहेको तत्कालीन सेन वंशीय राज्यको राजधानी चौदण्डीगढी नेपालकै एक पुरातात्विक स्थल हो । इतिहासमा उल्लेख भएअनुसार विसं. १७९० देखि जगत सेन, विक्रम सेन, हरि सेनलगायतका चार पुस्ताले चौदण्डीगढी दरबारमा रहेर राज्य चलाएका थिए ।
इतिहासकारका अनुसार हरि सेनराजा रहिरहेका बेला हरिनन्द उपाध्याय पोखरेल र स्वरुपसिंह कार्कीको विशेष सहयोगमा पृथ्वीनारायण शाहले विसं १८३० तिर चौदण्डीगढी राज्यमा विजय हासिल गरेको भन्ने पाइन्छ। गोर्खालीहरूको विजय अभियानसम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रूपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा हाल भग्नावशेष मात्र बाँकी छ।पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्त्विक महत्त्व बोकेका देवीदेवताका मूर्ति, ढुंगाका सामग्रीहरू हराउदै गएका छन्। सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिर भग्नावशेषको रुपमा रहेको छ।
जिल्लामा प्रसस्त मात्रामा रहेको चुनढुङ्गा खानीले देशकै ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग सञ्चालन भैरहेको छ। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ जलजले को बनक्षेत्रमा अबस्थित छ भने आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गरिदै आएको छ।
उदयपुरमा स्वास्थ्यको क्षेत्रमा खासै राम्रो व्यवस्था देखिदैन। यहाँ रहेका स्वास्थ्य केन्द्रहरूमा पनि चिकित्सक, स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य उपकरणहरूको अभाब रहेको देखिन्छ। हालै उदयपुरमा एक मेडिकल कलेजको खाचो रहेको यहाका बासिदाहरुले औल्याउदै आएका छन्।
यता शिक्षा क्षेत्रमा भने उदयपुर पूर्ण सफल नभए पनि राम्रै अवस्था छ। सरकारले तोकेको मापदण्ड पुरा गरेर साक्षर जिल्ला घोषणा भै सकेको यस जिल्लामा ९५ प्रतिशत मानिसहरु शिक्षको पहुचमा रहेको पाइन्छ। तर भौगोलिक विकटताका कारण संस्थाहरूमा पुस्तकालय प्रयोगशाला जस्ता भौतिक सुविधाको अभाव, योग्य विषयगत शिक्षकको अभाव, राम्रो विषय चयन गर्ने अवसरको अभावको कारणले गर्दा गुणस्तरीय र प्राबिधिक शिक्षामा भने कमि देखिन्छ।
भौगोलिक दृष्टिकोणबाट पहाडी र तराई क्षेत्रलाई समेटेको यस जिल्लामा यातायातको सुबिधा भए पनि राम्रो ब्याबस्था भने हुन् सकेको छैन। पुर्व पश्चिम राजमार्गबाटको कदमाहादेखि २७ किमि सदमुकाम गाईघाट सम्म र सगरमाथा राजमार्गको केहिभाग कालोपत्रे भएको भएपनि अन्य जिल्लाका सडक सबै धुलाम्मे छन्। मध्ये पहाडी लोकमार्ग सदरमुकाम गाईघाट हुदै उदयपुरका धेरै जसो स्थानमा पर्ने भएकाले यातायातको रुपमा उदयपुरको अबस्था राम्रो मान सकिन्छ तर स्थानीय सडकहरु अहिले सम्म पनि प्राय सबै धुलाम्मे हुदा सुधार गर्नु पर्ने देखिन्छ।
धार्मिक रुपमा यस उदयपुर जिल्लामा इतिहासकाल देखिनै सबै धर्म र जातका मानिसहरुको बसोबास रहेको पाइन्छ। हिन्दुधर्मालम्बी उल्लेख्य रुपमा रहेको यस जिल्लामा वौद्ध, किरात धर्म, इस्लाम, जैन, क्रिश्चियन धर्म मान्ने हरुपनि पाइन्छ। यस जिल्लामा क्षत्री, राई, मगर, थारु, ब्राम्हण, तामाङ्ग, कामी, नेवार, दनुवार, दमाई, सार्की, माझि, मुसहर, सुनुवार, थकुरी, सन्यासि आदी जनजातीहरूको बसोबास छ। यस जिल्लामा सबभन्दा बढी नेपाली भाषा बोल्नेको संख्या रहेको छ भने दोस्रो स्थानमा राईत्यसपछि मगर भाषा बोल्नेको संख्या तेस्रो स्थानमा रहेको छ। यी बाहेक अन्य भाषा बोल्नेको संख्या भने थोरै मात्रामा रहेको पाइन्छ।
रौता भगवती, पञ्चावती मन्दिर, चौदण्डी शिवालय, इन्द्रेश्वर महादेव ढिम्की, खाट मन्दीर, बागचौरी, असारीको शिवालय, चुरिया माई, राम जानकी मन्दिर, मोतिगडा, शिद्धेश्वर महादेव चुहाडे, गणेश र भगवती मन्दिर, शिव मन्दिर जलजले, राधा कृष्ण मन्दिर गाईघाट, दनुवार जातिको इष्ट देवको मन्दिर कटारी–२, गुप्तेश्वर महादेवको मन्दिर, ककनी मन्दिर कालीखोला आदि धार्मिक महत्वका स्थलहरु हुन भने चौदण्डी गढी, उदयपुर गढी, बेलकातरी दरवार, खाट बजार, रंग महल, टंकेला गुफा यस जिल्लाका प्रमुख ऐतिहासिक महत्वका स्थलहरु हुन् ।
सांकृतिक रुपमा धनि यो जिल्लामा क्षेत्रि-ब्राम्हणहरुले कुलपुजा, किराती समुदायको साकेला चण्डीनाँच, नेवार जातीहरुले लाखे नाँच, तराइमा मधिसे समुदायले जितिया र छठ पर्व धुमधामसँग मनाउछन। वैशाख पूर्णिमा र मंसिरे पूर्णिमा गरी वर्षमा दुई पटक मनाइने यो पर्वलाई किराती समुदायले विशेष पर्वका रुपमा रुपमा मनाउदै आएका छन्। किरात राईहरु भेटघाट, जीवनशैली, पौराणिक कथा र सामाजिक सम्बन्धका बारेमा सिलीमार्फत् एक महिना ढोलझाम्टाको तालमा चौरीको चम्मर, झयाम्टा र काँधमा ढोल बोकेर साकेला नाच्ने गर्दछन ।
उदयपुरमा मनाइने सास्कृतिक पर्व मध्ये नेवार समुदायले मान्ने लाखे नाच एक हो। कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक लाग्छ ।
यस्तै तराई मधेस संग पनि सम्बन्ध रहेको उदयपुर जिल्लामा मधेसी समुदायले मनाउने जितिया र छठ पर्वको बिशेष सांस्कृतिक महत्व छ। छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।