उदयपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उदयपुरको क्षेत्र नं १ मा पुरानै प्रतिस्पर्धीहरू दोहोरिएका छन्। यहाँ कांग्रेस नेता डा. नारायण खड्का र एमाले नेता मञ्जु चौधरी प्रर्तिस्पर्धामा छन्।
२०७४ सालमा पनि यहि क्षेत्रबाट प्रतिस्पर्धा गरेका डा. खड्का र चौधरी मध्ये डा.खड्काले चौधरीलाई थोरै मतले पराजित गरेका थिए । २०७४ सालमा बाम गठबन्धनबाट उम्मेद्वार बनेकी चौधरीलाई पराजित गरेका डा.खड्का यस पटक फुटबाट गुज्रिएको एमाले र बाम गठबन्धनको एक शक्ति माओबादी आफ्नो साथमा हुदा बिजयी हुनेमा ढुक्क छन ।
तर नेपाली कांग्रेस भित्र डा.खड्कासँग असन्तुष्टि राख्नेहरुको जमात ठुलै भएका कारण सोचे जति सहज भने नभएको कांग्रेस वृतमा चर्चा छ। पार्टी भित्रको असन्तोष र अन्तर बिरोधलाई डा.खड्काले प्राय वेवास्ता गर्ने गरेका छन्। कार्यकर्तासँग घुलमेल नहुने, उदयपुरको नेता म मात्र हो भन्ने खालको दम्भ देखाउने उनको स्वाभावाले एमालेलाई फाइदा पुग्ने एमाले नेताहरुको बुझाई छ ।
कांग्रेसको संस्थापन खेमामा रहेका डा खड्काले संस्थापन इतरका नेता कार्यकर्तालाई अवसर नदिने, आफ्नै मात्र निर्णय लागु गराउने गर्दा संस्थापन इतरका नेता कार्यकर्ताको मन र मत जित्न सकस हुने देखिन्छ।
२०७४ सालको निर्वाचनमा थारु समुदायको भोट ल्याएर मञ्जु लाई पराजित गरेका उनले पार्टीको आन्तरिक निर्वाचनमा पार्टीका कुनै पनि तहमा थारु समुदायलाई संस्थापनले अवसर दिएन । त्यसो हुदा थारु समुदाय पनि डा.खड्कासँग रुष्ट देखिन्छन। त्यसको प्रत्यक्ष फाइदा आफुपनि थारु समुदायकै भएका कारण मञ्जुले लिने एमाले नेताहरु बताउछन ।
पटक पटक संसद र दुई पटक मन्त्री भएर पनि उदयपुरको सर्वाङ्गिण बिकास गर्न नसकेको र विभिन्न बिषयमा विवादित रहेका कारण डा.खड्कालाई यो पटकको निर्वाचन चुनौतिपूर्ण छ। यता एमालेको टिकट बितरणमा मञ्जुले खेल खेलेर टिकट साटफेर गरेको भन्ने चर्चाले एमाले भित्रका केहि नेता तथा कार्यकर्ताले असहयोग गर्ने सम्भावना पनि उत्तिकै छ।
यता प्रदेश सभामा जिल्ला सभापति हिमाल कार्की उम्मेद्वार छन । एमालेबाट इश्वरमणी राउत चुनावी प्रतिस्पर्धामा छन्। २०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई मात दिएर बिजयी बनेका हिमाल कार्की प्रदेश सरकारको राम्रो मन्त्रालय सम्हालेर उदयपुरको भौतिक बिकासमा राम्रो टेवा पुर्याई सकेका छन्।
एमालेभित्र लामो समय अध्यक्ष केपी ओली विरोधी कित्तामा उभिएका इश्वरमणी ओली पक्षका नेता तथा कार्यकर्ताको मन र मत जित्नुपर्ने चुनौती हुनेछ । ओलीले संसद बिघटन गर्दा त्यसको बिरुद्ध खरो उत्रीयका राउत माधब नेपालले पार्टी फुटाएर गए पछि एमालेमा नै बसेका हुन ।
पार्टी अध्यक्षको जिम्वेवारीमा रहेका राउतले माधव नेपालको पक्षमा लाग्दा आफ्नो अध्यक्ष पद समेत गुमाउनु परेको थियो । सामान्य लेखा परिक्षण संगसंगै राजनीति गर्ने राउतले गरेका लेखा परिक्षण रिपोर्ट अपुष्ट र विवादित हुने गरेका छन । त्रियुगा उद्योग बाणिज्य संघको लेखा परिक्षण गर्दा दुई किसिमको रिपोर्ट दिएका कारण बाणिज्य संघको विवाद अहिले सम्म सुल्झेको छैन।
यस्तो छ अंक गणित
त्रियुगा, चौदण्डी र बेलका नगरपालिका सहित संघिय निर्वाचन क्षेत्र रहेको यहाँ त्रियुगा नगरपालिकाका १६ वडा चौदण्डीगढीका १० र बेलका ९ गरेर ३५ वडा रहेका छन ।
पछिल्लो स्थानीय तह निर्वाचनको वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएका छन । यस क्षेत्रमा वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले कुल २८ हजार ६ सय ४० र एमालेकाले २८ हजार २ सय ३० मत पाएका थिए ।
माओवादीकाले ११ हजार ०६९, एकीकृत समाजवादीकाले ३ हजार ४ सय २७ मत पाएका थिए। स्थानीय चुनावमा त्रियुगामा नेकपा माओबादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । त्रियुगा र चौदण्डीमा गठबन्धन नगरी स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेको कांग्रेसले त्रियुगामा ठुलो मतान्तरका साथ जित निकाल्यो भने चौदण्डीमा थोरै मतान्तरले हार बेहोर्यो । बेलका भने गठबन्धन भएको थियो।
अहिले कांग्रेस, माओबादी र एकीकृत समाजबादीका वडा अध्यक्षहरुले ल्याएको मतलाई आधार मान्दा गठबन्धनसँग ४३ हजार १ सय ३६ मत रहेको छ भने एमालेसँग २८ हजार २ सय ३० मत मात्र छ। यता एमाले सँग गठबन्धन गरेका जनता समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि उदयपुरमा आ-आफ्नै उम्मेद्वार छन्। १८ हजार ३ सय ३३ मत ले अगाडी रहेको गठबन्धनलाई हराउन फलामको चिउरा चपाउनु सरह हुने छ।
यता त्रियुगा नगरपालिका मात्र प्रदेश क्षेत्र रहेको प्रदेश मन्त्री हिमाल कार्की प्रतिस्प्रर्धा गर्ने यस प्रदेश सभा क्षेत्रमा गत स्थानीय निर्वाचनमा यस नगरपालिकामा कांग्रेस एक्लैले एमालेलाई २ हजार ८६ मतले पराजित गरेको थियो । स्थानीय निर्वाचनमा माओबादी र एकीकृत समाजबादीले गठबन्धन गरेर चुनाव लडेका थिए । जसमा माओबादीले तिन वडा जितेको थियो भने गठबन्धनबाट कलम चिन्ह लिएर उठेका मेयरले ९ हजार १ सय ४७ मत ल्याएका थिए।
त्रियुगा नगरपालिकामा मात्र कांग्रेसका वडा अध्यक्षले १३ हजार ६ सय ४३ मत ल्याएका छन् भने गठबन्धनमा रहेका एस र माओबादीका वडा अध्यक्षले ९ हजार १ सय ६६ मत ल्याएका छन। एमाले स्थानीय निर्वाचनमा झैँ एक्लै लडेको छ । यहाँ एमालेका वडा अध्यक्षले पाएको ११ हजार २ सय ७१ मत हो। जुन सत्ता गठबन्धन भन्दा दोब्बर अर्थात ११ हजार ५ सय ३८ मतले कम छ ।