उदयपुर । भौगोलिक विकटताका कारण विकास निर्माणले पछि परेको उदयपुरको निर्वाचन क्षेत्रनं २ (प्रतिनिधिसभा) का चार वटा मुख्य सडकलाई विकासको मेरुदण्ड ‘लाईफलाईन’ को रुपमा अघि सारिएको छ । जनतासँग संसद कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझीले आफ्नो निर्वाचन क्षेत्रको विकासको ‘मोडालिटी’ सार्वजानिक गर्दै पहिलोचरणमा चार वटा मुख्य सडक र ‘उदयपुर–२ उज्यालो’ अभियान विकासको मेरुदण्ड भएको बताए ।
लाइफलाईन सडकतर्फ मिर्चैया–कटारी–घुर्मि–ओखलढुंगा हुँदै सगरमाथासँग जोडन्े, सिद्धिचरण लोकमार्गलाई स्तरउन्नती गरी कालोपत्रे गर्ने, मुर्कुची–पुवाँरे–माझखर्क–बाँस्बोटे–कुनाईघाट हुँदै पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङ्गको हलेसी जोडने उनले बताए ।
त्यसैगरी ७८ किलोमिटर रहेको सुनकोसी करीडोरलाई तिव्रता दिने र पहाडी क्षेत्रको महाभारतलाई जोड्ने गरी वेरौनी–माझखर्क–लाफागाउँ–कुर्लेटार सडक आफ्नो कार्यकालमा प्राथामिकतामा रहेको बताए । सांसद रायमाझीले भने, ‘चालु आर्थिक बर्षमा संघीय सरकार साना र ठुला गरी एक सय वटा योजना छन्, सोही अन्र्तगत निर्वाचन क्षेत्र भित्र पर्ने सबै पालिका जोड्ने सडकलाई पक्की बनाउने तयारीमा छौ ।’
‘चार वटा स्थानीय तह कटारी नगरपालिका, ताप्लि, उदयपुरगढी, रौतामाई र लिम्चुङ्गबुङ्ग गाउँपालिकाका ४० वटा वडा क्षेत्रनं २ मा छन’, उनले भने, ‘यी सबै वडाका बस्तिमा ‘उज्यालो २ नम्बर बनाउने गरी टेण्डरका काम अघि बढाएका छौ ।’ त्यसैगरी १४ वटा प्याकेज रहेको सुनकोसी करिडोरको कामसमेत सुरु भईसकेको उनले जानकारी दिए । सांसद रायमाझीले जनताको विकास पाउने अधिकारलाई सुनिश्चित गर्न चार वटै स्थानीय तहमा जनताको माग र आवश्यकता अनुसार लिफ्टिङ्ग खानेपानी आयोजनाका काम सुरु भईसकेको बताए ।
देशको आर्थिकमन्दीका कारण सोचेअनुरुप सरकारले वजेट व्यवस्थापन गर्न नसकेपनि चालु आर्थिक बर्षमा निर्वाचन क्षेत्रमा १४ वटा पुल र अन्य विकास निर्माण गरी एक सय वटा योजना रातोकितावमा पार्न सफल भएको बताए । उनले रौतापोखरीलाई धार्मिक तथा पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्ने गरी प्रदेश सरकारसँग समन्वय गरी सडक विस्तार, भौतिक पूर्वाधारका कामहरु यसै आर्थिक बर्षबाट सुरु हुने बताए ।
रायमाझीले रौतापोखरीसँगै अन्य पालिकाका पर्यटकिय र धार्मिक क्षेत्रको विकास निर्माणमा जुटेको बताए । यसकासाथै रौतामाई गाउँपालिका वडानं ३ को खानेपानी समस्या समाधान, जनताको जनजीविकाको सवाल, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिजन्य बस्तुको व्यवस्थापनका कामलाई प्राथामिकताकासाथ अघि सारिएको उनले बताए ।
उनले चुनढुंगाको खानी क्षेत्र, जडिवुटीको सम्भाव्यता अध्ययन गरी औधोगिक क्षेत्रकोरुपमा विकास गर्न र हावापानी, माटो सुहाउने गरी कृषि क्षेत्रमा लगानी बृद्धि गर्ने गरी सरोकारवाला निकायसँग समन्वय भईरहेका बताए । सांसद रायमाझीले सरकारी लगानीमा संचालित एसियाकै प्रतिष्ठित उदयपुर सिमेण्ट उद्योग पछिल्लो समय धरासय बन्दै गएकोमा दुःख व्यक्त गर्दै यसलाई पुर्नजिवन दिन आफुले सदनमा मात्र नभई सरोकारवाला निकायसँग नियमित छलफलमा जुटेको बताए ।
कार्यक्रममा सहभागिहरुले विकास निर्माण सम्बन्धि सामुहिक समस्या उजागर गर्दै सम्बोधनका लागि सांसद रायामाझीलाई आग्रह गरेका थिए । उनीहरुले व्यक्तिका समस्या भन्दा पनि साझा समस्यालाई प्राथामिकता दिने गरी काम गर्न सके मात्र सबै जनताको मन जित्न सफल हुने बताए ।
‘राजनीकि पाँच बर्षपछि गरौला तर अहिले सामुहिक विकास गरौ’ भन्ने मुलमन्त्र लिएर अघि बढेका रायमाझीले विकासका बारेमा प्रत्येक महिना राजनीतिक दल, स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधि, सामाजिक संघसंस्था, जनता र सरोकारवाला निकायसँग छलफल चलाउने गरेको स्वकिय सचिब संजिव कार्कीले बताए ।